Tag Archives: Bhairav Aryal

भैरव अर्याल जीवनी । Biography of Bhairav Aryal in Nepali

नेपाली साहित्यको हास्यव्यङ्ग्य क्षेत्रका ख्यातिप्राप्त प्रतिभा भैरव अर्यालको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका थिए । उनको आमाको नाम खेमकुमारी अर्याल र बुवाको नाम होमनाथ अर्याल होउनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन् । भैरव अर्याल साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन् ।अर्यालका काउकुती, जयभुँडी, गलबन्दी, इतिश्री, दश औतार लगायत कृति प्रकाशित छन् ।

समाजका विभिन्न क्षेत्रका विसङ्गति प्रति व्यङ्ग्य गर्दै उनले कुतकुत्याउने शैलीका कारण पाठकलाई व्यङ्ग्यको तीतो- टर्रो ग्रहण योग्य बनाएको पाइन्छ । नेपालीमा एम. ए., साहित्य रत्न र संस्कृतमा मध्यमासम्म को अध्ययन गरेका अर्यालले पत्रकारिता पनि गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे। उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीं पत्रकार नियुक्त भएका हुन् र पछि गोरखापत्रको सम्पादन समूहमा रहे।

‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रहयो। कविता लेखनबाट साहित्य यात्रा शुरुवात गरेका भैरव अर्यालले २०१३ सालमा हास्यव्यङ्ग्यात्मक निबन्धका माध्यमबाट नेपाली निबन्ध विधामा प्रवेश गरेका हुन् । कविता लेखनसँगै निबन्ध लेखनको पूर्वाअभ्यास गरेका अर्यालले २०१३ सालमा ‘खोलापारिका पुरेत बाजे निबन्ध ‘हालखबरु पत्रिकामा प्रकाशित गराएर औपचारिक रूपमा निबन्ध यात्रा शुरु गरेका हुन् ।

उनका काउकुती (२०१९), जयभुँडी (२०२२), गलबन्दी

(२०२६) इतिश्री (२०२८), दस औतार (२०३३) र टेढो ऐना (२०६३)जस्ता हास्यव्यङ्यात्मक निबन्ध सङ्ग्रहरू प्रकाशित छन् । उनका टेढो ऐना बाहेकका निबन्ध सङ्ग्रहहरूलाई भैरव पुरस्कार गुठीले २०६० सालमा भैरव अर्यालका हास्यव्यङ्ग्य शीर्षकको स‌ङ्ग्रहमा सङ्ग्रहित गरेको छ । लगभग १७ वर्षको लेखन अवधिमा यति धेरै निबन्ध नेपाली निबन्ध साहित्यलाई दिने अर्यालले हास्यव्यङ्ग्य निबन्धको विकासमा विशेष योगदान पुर्याएका छन्। साझा कथा, साझा निबन्ध, छ्याकन कविता सङ्ग्रहको सम्पादन गरेका अर्यालले रचना, रत्नश्री, मधुपर्क गोरखापत्र र हालखबर जस्ता पत्रिकाको समेत सम्पादन गरेका थिए। उनले गोरखापत्रको सम्पादकीय फाँटमा जागिरे भएपछि राजनीतिक, सामाजिक र आर्थिक महत्वका समसामयिक लेखहरू लेख्दै खारिएको मस्तिष्कबाट हास्यव्यङ्ग्य निबन्धमा कुशलता प्राप्त गरको देखिन्छ । उनका निबन्धमा हास्यका साथसाथै व्यङ्ग्यका झटाराहरू हानिएका हुन्छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशको चित्रण उनका निबन्धमा गरिएको हुन्छ। उनी आत्मपरक निबनधकार हुन् । उनलाई सफल बनाउने प्रवृत्ति भने हास्यव्यङ्ग्य नै हो. उनी समाजमा भएका बेथिति र विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गर्दछन्। उनले सर्वप्रथम वि. सं. २००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन्। उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३ मा ‘नव निर्माण’ शीर्षकको कविता प्रकाशित भएको थियो ।

उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए। सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, राजनीतिक आदि विभिन्न क्षेत्रमा व्याप्त विसङ्गतिप्रति व्यङ्ग्य गर्नु उनको मुख्य विशेषता हो। मानवीय स्वभावमा रहने कमी कॅमजोरीप्रति पनि आलोचना तथा व्यङ्ग्य गर्नु उनका निबन्धको उद्देश्य रहेको देखिन्छ । उनी पाठकलाई हँसाएर व्यङ्ग्यको तितोपनालाई ग्रहण योग्य बनाउन समर्थ छन् । उखान टुक्काका साथै अनुकरणात्मक शब्दको विशिष्ट प्रयोग गरेर व्यङ्ग्यका लागि आवश्यक पाइनदार भाषाको प्रयोग गर्न पनि उनी खप्पिस छन् ।

नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् । उनको मृत्यु काठमाडौँको गोकर्णमा वि.सं. २०३३ मा भएको थियो ।